Thursday, August 30, 2012

भट्टराईको ट्रयाक्टर एडभेन्चर


प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताड्ड गाडी चढेर शुरुका दिनमा जति लोकप्रियता कमाउन थालेको थिए त्यसले लामो समय सम्म निरन्तरता पाउन सकेन । उनका मन्त्रिपरिषदका सदस्यहरुले बेला बेलामा गर्ने क्रियाकलाप उनको लोकप्रियतामा कमि ल्याउने प्रमुख तत्वका रुपमा रहे । त्यसका साथ साथै उनी आफै पनि बिभिन्न कारणले गर्दा बिवादित बन्दै गए । सायद उनी आफैमा नराम्रो व्यक्ति होईन होला तर समयकालले उनलाई त्यस्ता कमद उठाउन बाध्य पारीए होला । जे भए पनि एक जुगका राम्रा ईन्जिनियर त्यसमाथि पनि विद्यावारीधि गरी सकेका व्यक्तिले नेतृत्व लिदा अवश्य पनि देश र जनताको हितकोलागि नै कार्य गर्छन होला भन्ने आश सबैको थियो । उनले आफैले अर्थ मन्त्रीको जिम्मेवारी सम्हाल्दा गरेका आर्थिक सुधारले पनि सर्वसाधारण धेरै आशावादी थिए । तर विविध कारणले गर्दा उनले गर्न सक्ने र गर्न खोजेका काम गर्न सकेनन होला । उनी द्वारा नरुचाईएका कार्यहरु गर्न वाध्य भए होलान । त्यत्तिका बिचमा पनि उनले एउटा नौलो कामको फेरी शुरुवात गरेका छन । प्रत्येक महिना बिभिन्न गाविसमा पुगेर स्थनीयवासीहरुसंग एक दिन विताउने ।

उनको यो कार्यक्रम स्थानीय स्तरमा पुगेर स्थनीयवासीहरुले स्थानीय स्तरमा भोग्नु परेका समस्याहरु पत्ता लगाउनु होला । उनले त्यहा देखेका समस्याहरुको समाधानकोलागि सरकाले गर्न सक्ने कार्यहरु प्राथमिकतामा पारेर गर्नु होला । यो कार्य अवश्य पनि राम्रो शुरुवात हो तर यो भट्टराईको हेलो सरकार जस्तो सुपर फल्प प्रोजेक्ट नहोस भन्नेमा आशावादी होऔ ।

काठमाण्डौबाट उडेर भरतपुरमा कालो झण्डाको सामना गर्दै लावा लस्कर सहित चितवनको सिद्धि गाविसमा पुग्ने उनको कार्यक्रमको शुरुवात निकै ताम झामका साथ गरिएको थियो । एउटा दैनिक पत्रिकामा ८९ वर्षिय बन्दिपुरे चेपाड्डको बारेमा समाचार प्रकाशन भएपछि उनी सिद्धि पुग्न हौसिएका थिए । सवारी साधन पुग्ने ठा“उसम्म उनी सहित सरकारी कार्यालका उच्च पदस्थ अधिकारीहरु वातानुकुलित गाडीमा पुगे । वर्षायाममा उर्लेर आएको खहरे तर्न नसकेपछि उनीलगायत उनको टोलीको साधन खोला वारी नै छोडेर स्थानीवासीहरुको सदावहार साधन ट्रयाक्टरमा सिद्धि पुग्ने योजना बन्यो । जनयुद्धकाला हिडेका धेरै अनुभवहरुलाई सिद्धि यात्राले रिफ्रेश्मेन्ट गरिदिए जस्तो थियो ।

उनी ट्रयाक्टरमा जानु ठूलो कुरा थिएन तर ती भेगका जनताको यातायातको मुख्य साधन नै त्यही हो भन्ने मुलकका कार्यकारी निकायका म्रमुख व्यक्तिले बुझनु ठूलो कुरा थियो । आकासबाट कहिले कहिले विश्राम लिदै परिरहेको एकनासे झरीमा ट्रयाक्टरको पछाडी भागको ढाला समातेर बसेका भट्टराईलाई ज्ञान छ कि छैन होला त्यहा“का स्थानीवासीहरुकोलागि त्यो साधन नै मर्सिडिज वेन्च भन्दा पनि बढि महत्वपूर्ण छ । त्यसमा समातेर हिड्दा हिड्दा हातका छालाहरु खुईलिएर ठेला परिसकेका छन् । त्यो पनि छुट्यो भने घण्टौ पैदल हिडनु पर्ने बाध्यता उनीहरु माथि छ । एम्बुलेन्स भने पनि, बस भने पनि, ट्याक्सी भने पनि उनीहरुको एउटै रोजाई त्यहि साधन हो ।

गाविस सचिव र हेल्थपोष्टका डाक्टरसावको अनुहार कहिले कहि मात्र देख्न पाउने स्थानीयवासीहरुले यतिका धेरै उच्च पदस्थ सरकारी कर्मचारीहरु देख्न पाउनु धेरै ठुलो कुरा थियो । भट्टराईज्यू तपाई सरकारी मेजमानीमा स्वास्थ्य चौकीको पक्की घरको कोठामा रात बिताउनु भयो होला । चिसो भुईमा भए एकसरो कपडा त्यो पनि नभए पोलिथिन बोरा ओछ्याएर बस्नेहरुलाई के थाहा सुत्केरीको बेलामा त्यहि हेल्थपोष्टमा कति पटक चिकित्सकको नियमित परिक्षण गराउनु पर्दछ भनेर । गांउका केहि सिमित टाठाबाठाहरुलेमात्र कखरा सिक्ने मौका पाएका र अरु अहिले पनि तीन बिसको हिसाव गर्नु पर्नेहरुलाई शिक्षाको महत्व र यसले पार्ने दुरगामी असरको बारेमा के थाहा ।

तपाई एक दिनको लागि जा“दा आपतकालिन औषधि र अन्य प्राथमिक उपचारको साधनसंगै लिएर जानु भयो होला । जहा“ झाडापखाला लागेको बेला जीवन जल पाउनु नै ठूलो कुरा छ । जे जस्तो रोग लागे पनि सिटोमोल र ब्रुफिन नै सबै रोगको उपचार गर्ने प्रमुख औषधि भनेर बस्नु परेको छ । स्वास्थ्यकर्मी भन्दा पनि धामी झार्की सर्वशुलभ भएर विरामीहरुको उपचारको पहिलो रोजाई शुक्र लागेको र शनिको दशा शान्ति स्वस्ती गराउनेमा हुन्छ । उपचार दोश्रो स्तरमा मात्र हेल्थपोष्ट र अस्पताल जानु पर्नेलाई लिईनछ ।

भट्टराईज्यू तपाई जानु भएको दिनमा त भान्छामा तपाईसंगै गएका सहयोगीहरुले मिठै कुराहरु पकाएर खुवाए होला । जहा“ चामलको अनुहार हेर्न दशैं तिहार कुर्नु पर्दछ वा कुनै दाताको दिन कुर्नु पर्दछ । गर्न सके दैनिक ज्यालादारी नसके जंगली कन्दमुल र अन्यको भरमा बस्नु परेका छन् । जसको प्रभाव बालवालिकादेखि बृद्ध बृद्धासम्म सबैलाई परेको छ । तपाईले त्यहा आफ्नो तिर्खा मेटाउन मिनरल वाटर खानु भयो होला तर खोलाको तरिमा रहेको कुवा कुलेसोको धमिलो पानी नै त्यहाका स्थानीयवासीहरुको प्यास मेटाउने श्रोत हो । त्यसमा हुन सक्ने किटानु र त्यसले पार्न सक्ने प्रभावको बारेमा न तिनलाई हिजो थाहा थियो न आज थाहा छ ।

भट्टराईज्यूले एक रात बिताउनु भयो, अध्ययनशील र विवेशिल मानिस भएका हुनाले उहा“ले धेरै कुरा बुझनु भयो होला । उहा“संगै जानु भएका भर्खरनै निजामति सेवाका उच्च व्यक्तित्व लिलामणी पौडेलले पनि त्यहा“को यथास्थिति राम्रोसंग बुझ्नु भयो होला । नेपालका ग्रामीण क्षेत्रमा देखिने अंधिकाशंको सामुहिक समस्या र आवश्यकताको प्रतिनिधित्व सिद्धि गाविसले गर्दछ । त्यसैको आधारमा सरकारी सेवा चुस्त दुरुस्त राख्नको लागि व्यवहारीक रणनीति बनाउनु हुन्छ होला ।

बेला बेलामा गरीने भ्रमण दुई चार जना गरीव गुरुवाहरुलाई बांडिने लत्ता कपडाहरुले समस्याको दिर्घकालिन समाधान गर्न सक्दैन । एक हुल मानिस जम्मा गरेर पत्र पत्रिकाको मुख्य समाचार बनाएर मात्र हुंदैन  । स्थानीयस्तरमा पुगेर याथास्थिति बुझि सकेपछि त्यहा“ देखिएका समस्याहरुको निराकरणकोलागि आवश्यक कदम चालिनु पर्दछ । भ्रमणमा देखिएका सरकारी कमि कमजोरीमा सुधारको लागि प्रयास गरिनु पर्दछ । यदि त्यसो भएन भने  यो भ्रमण ट्रेक्टर एडभेन्चरकोलागि मात्र सिमित हुन सक्दछ ।

सुधिर भद्र
२०६९ भाद्र ३ गते

Sunday, August 5, 2012

पार्वतीको भट्टी


दिनहरु सुसाउदै गएपछि, पार्वतीको आगन बाक्लिदै जान्छ । दिउसै छोडाएर राखिएको अदुवा लसुन अनि त्यसमाथि खोर्सानीको मिश्रण मासुका बिभिन्न परिकारको लागि तयार भई सकेको छ । छेउमा ग्यासमा मम पकाउनकोलागि पानि तताउने काम पनि शुरु भईसकेको छ । ग्यास चुलोको अर्को पटी मुखमा महिनौ देखि नमाझेर राखेको ताप्केको पिधमा हिजोको भुटुनको केहि थोपाहरु बा“की छ । बाक्लिदै गएको आगनमा मोटरसाईकलहरु अटाई नअटाई हुन थालेपछि टेबल पनि भरिदै गयो । पार्वतीका नियमित उपभोक्ताहरुकोे सा“झ छिप्पिदै गएपछि जिब्रो फपराउन शुरु हुन्छ । जहा“ भएपनि केहि समय ढिलो चा“डो गरी पार्वतीका टेबल सम्हालन आईपुग्छन ।

टेबल नं. १
खाली पेट थियो अस्ति दुई स्टिल नेट हानेको त म झ्याप भईरा, घरमा बा फायर, भर्खरैै जुगाको रेखि बसेका युवा आफ्ना साथीहरुलाई सुनाउदै थिए । अस्ति कलेज हाफ पछी निस्केर जी मा झ्याप नी क्या रिल्याक्स भाको थियो, यो मु......लाई हिड भनेको गएन । आफ्ना पुरानाकुराहरु स्मरण गर्दै धमिलो पानी भरिएको जस्तो देखिने सिसाको गिलास उठाउ“दै थिए । उनीहरु मध्ये कै एकको मोबाईलमा फोन आयो । मोबाईल र उ स्वयंले मात्र सुन्ने स्वरमा अलि संयमित भएर फोन गर्दै थिए । पा“च मिनेटसम्मको फोन सम्वादको अन्तिम तिर मिस यु र सि युको को वर्षादसंगै फोन सम्बाद टुंगियो । यसको जीएफको फोन आको होला हैन, दीनको १० पटक सम्म फोन गर्न सक्छ के मात्र गफ गर्छौ टेबलका  साथी मध्येकै एकले प्रश्न गरे । फोन उठाउने साथीले स्पष्टिकरण दिदैं भने अस्ति हामी डेट गाको त्यसको बाले देखेछ क्या ११ को हो भनेर सोधेर ¥याग गरी रा छ रे क्या । के गर्ने बाल मतलव छैन, धेरै किच किच गर्न थाल्यो भने तेललाई लिएरै जानु पर्छ यार ।  एउटै प्लेटमा राखिएको नास्तामा भएको चार चम्चा मध्ये एउटा चम्चाले भटमास र दुई चोक्टा सुकुटी अठाएर मुखमा हाल्दै योजना सुनाउन थाले ।

टेबल नं. २
दीदी मःम ३ प्लेट, नास्ता २ ठा“उ अनि कचिला १ राख्दीनु है, अधवैसे मानिसहरुको समुहबाट पार्वतीलाई उनको रेगुलर मेन्युबाट अर्डर आयो । उनीहरु त्यहा आउनु भन्दा अगाडी अर्कै भोजमा मान मनितो भएर आईसकेका रहेछन । उनीहरुको दैनिक रेगुलर कोटाको केहि अंश भोजमा पुरा गरिसकेको भएतापनि पार्वतीको हातको स्वादको न्याश्रो मेटाउन उनीहरु आएका रहेछन् । ये सुन्न आई डन्ट लाईक टु ड्रिक बट यु फोर्स मी क्या, एकजना जिब्रो लरबराउर्दे अरु साथीहरुलाई आरोप लगाउदै थिए । यो अफिसबाट सिधै आएको थियो खाली पेटमा दुई प्याग हानेको थियो यसलाई धेरै भए जस्तो छ । अर्कोले उसको व्यवहार प्रति टिप्पणी गर्दै सुनाए । यसलाई खाएपछि अंग्रेजीको जा“च दिन लगाउनु पर्ने बोर्ड फस्ट नै हुन्थ्यो कि क्या हो, अर्कोले कटाक्ष गरे त्यहा हा“सोको फोहरा छुट्टयो । उनीहरुले त्यहा राष्ट्रिय देखि अन्तराष्ट्रिय चिन्तन सम्म गर्न भ्याए । सबैभन्दा धेरै गालि नेताहरुलाई गरे त्यसपछि स्थानीय निकायहरु पनि उनीहरुको गालिको सिकार भए । सबै जनाको सामूहिक स्वर एउटै थियो सा‘‘ नेताहरुले देश विगारे । उनीहरु तार्किक हिसावमा सहि छन वा गलत छन त्यो आफ्नो ठांउमा छन तर आफ्नो कुण्ठा पार्वतीकाको सोमरस पान गरेपछि आक्रमक रुपमा बाहिर आएको जस्तो लागेको थियो ।

टेबल नं. ३
आईरन गरिएर कडा पारिएको क्रिज सहितको सेटो सर्ट र निलो पाईन्ट लगाएका दुई भद्र एउटा कुनामा बसेका थिए । गिलास विस्तारै दाया“ हातले उचालेर मुखमा एक चुस्की लगाएपछि हा‘आ‘ गरेर मुख विगारेर गिलास टेबलमा पुनः राखे । आजको त्यति मिठो छैन, अस्तिको स्वादिलो थियो । पुराना स्वादका पारखी जस्तो उनीहरु सोमरसको मुल्याड्ढन गर्दै थिए । सधै हाकिमको अघि पछि गरेर मात्र हुन्छ, तेसले हाकीमलाई तेल घसेर काज मिलाएर खाई राछ । मलाई कुन दिन झोक चल्छ म हाकिमसंग डाईरेक्ट कुरा गर्छु । अस्ति पनि म काठमाण्डौ जानु पर्ने थियो यसो काज मिलाई देला भनेर सोध्न गाको त तेसलाई पठायो । हाकिमको व्यवहार प्रतिको असन्तुष्टि प्रकट गर्दै थिए । अर्कोले मुन्टो हल्लाउदै मौन समर्थन दिंदै आएका थिए । बेला बेलामा उसको आफ्नो असन्तुष्टि पनि सुनाउदै थिए । उनीहरु आ—आफ्नो संगठन मार्फत हाकिमको सरुवाको लागि केन्द्रिय स्तरका नेताहरुलाई पनि फोन लगाउ“दै थिए  । उताबाट पनि चा“डो भन्दा चा“डो सरुवाको व्यवस्था गरीने आस्वासन पाउदै आएका थिए । यसलाई सरुवा गर्नु पर्छ अनि अर्को आउनेलाई पहिल्यै पढाउनु पर्छ । सुर्य चुरोटको लामो सर्को तान्दै वियरको प्रचार खुईलिएको पुरानो खरानी दानीमा चोर औलाले टवाक्क ट्वाक्क खरेर चुरोटको खरानी झार्दै सुनाए ।

टेबल नं. ३
के छ पार्वति दीदी ११ आज बिल पास हुन्छ भनेको आज पनि पास भएन । तपाईको अझ दुई चार दिन ढिला हुन्छ है । धुलै धुलोले ज्याकेट टकटकाउ“दै सुनाउदै एकजना निर्माण व्यवसायी पार्वती दिदीसंग भर्खर साईट गएर आएको व्यख्या गर्दै थिए । उनीसंग भएका अरु साथीहरुलाई भन्दै थिए कस्तो चोरहरु उसै त स्टिीमेट भन्दा ३० प्रतिसत लो रेटमा काम गरेको छ,  त्यसमाथि पेमेन्टको चेक लिन पहिल्यै नै उसको कमिशन चाहियो भन्छ । ओभरसियरले फोन गर्दैथ्यो, के गर्ने यीनीहरुलाई नदीए बिल पास नै हुंदैन सीसाको गिलासमा भरिएको तरल एक धुट्कोमै स्वाट्ट पारेर लामो सास लिदैं सुनाउदै थिए ।

पार्वती पालै पालौ सबै टेवलको अर्डहरु सुन्दै त्यहि अनुसार पु¥याउदै आई रहेकी थिईन । उनको हात चुलोसंगै टेबलमा राखिएको कपिमा चल्दै थियो । तेलले अलि फोहर भएको धर्के कपिमा शिशु कक्षाका विद्यार्थीको अक्षर जस्ताें अक्ष्ँरले टेवल नं. सहित हिसाव राख्दै थिए । खानपिनको कार्यक्रम सकिएपछि जाउ“ है दिदी भन्दै विदावारी माग गरी उनका नियमति ग्रहकहरु फर्कन थालेका थिए । उनी पनि हवस भन्दै आत्मियता पूर्वक अभिवादन फर्काउदै फेरी भोलीको तयारीमा जुटन थालिन ।

सुधिर भद्र
२०६९ श्रावण २०

Monday, July 30, 2012

भय रहित सिकाई


मामा आज पिन्टु भाईले पिटाई खायो !!  ११ वर्षकी भान्जिले कराउदै भाईको कुरा सुनाउदै थियो । उनीहरु पढने स्कुलमा पढन र पढाउनकोलागि प्रयोग हुने एउटै तत्व थियो लठी । उनीहरु मध्ये होमवर्क नगर्ने ले पनि पाउने सजाय लठी नै थियो । गल्ति काम गरेकोले पाउने सजाय पनि लठि नै थियो । शिक्षकहरुलाई बिद्यार्थी तह लगाउने एउटै माध्यम थियो लठी ।
विद्यालयमा मासिक पैसा तिर्न जाने क्रममा शिक्षक मित्रलाई बच्चाहरुलाई देखाउने डरको बारेमा लामो मलाकुसारी हुंदा उनी कस्सिएर भन्दै थिए बच्चाहरु अलि अलि डर नदेखाए मान्दै मान्दैनन् के गर्ने । उसलाई केहि समय अगाडी एउटा गैर सरकारी संस्थाको सक्रियतामा अव देखि स्कुलमा लठीको प्रयोग नगर्ने भनेर लठी भाचेको स्मरण गराउंदा उनी अलिकति ग्लानी महशुस गर्दै स्पष्टिकरण दिदै थिए “हामीहरुलाई पनि बच्चाहरुलाई पिटन त्यत्ति मन त लाग्दैन तर तह नै लिन गाह्रो छ के गर्ने” उनले आत्मसमपर्णको शैलीमा सुनाए ।
साधारणतया हाम्रो जस्तो समाजमा जन्मेको २ वर्षदेखि बच्चाहरुले पिटाईको अनुभव गर्न पाईसकेका हुन्छन् अझ छोरी बच्चाहरुको हकमा त त्यो भन्दा पनि चाडो हुन सक्छ । हाम्रो हालसम्मको विद्यमान समाजमा पनि छोरा बच्चा भन्दा कम प्राथमिकतामा छोरी बच्चा परेको कुरालाई नकार्न सकिदैन । बच्चा रुदा, खान मन नगर्दा, धेरै चल्दा आमा वा अरु स्यहार गर्ने मानिसको झापडको स्वाद चाखि सकेको हुन्छ । त्यहि क्रमको निरन्तरता उनीहरु ठूलो हुंदासम्म पाउ“दै जान्छ । जसको निरन्तरता विद्यालयमा पनि पाउछ । राम्रोसंग पढनकोलागि शिक्षकको लठीको डर, होमवर्क गर्नकोलागि शिक्षकको कान निमठाईको डर, अरु साथीसंग नचलेर बस्नकोलागि शिक्षकको डस्टरको डर विद्यार्थीकोलागि अपरिहार्य भईसकेको हुन्छ ।
औलामा गर्न सकिने केहि परिवार बाहेक अन्य जतिसुकै शिक्षित परिवारमा पनि केटाकेटीहरुले पिटाई खाने कुराको शुरुवात आफ्नै घरबाट गरेको हुन्छ । शुरु शुरुमा उनीहरुलाई पिटाईको केहि डर लागेता पनि यसको धेरै अनुभव भएपछि यसले पनि काम गर्न छोडछ अनि बालबालिकाहरु गलत संगतको शिकारमा पर्न सक्ने सम्भावना धेरै हुन्छ । मुखले मात्र गालि गरेर बच्चाहरु तह लगाउने र मुखको भरमा नै बच्चाहरु तह लागेर बस्ने बच्चाहरु पाउन निकै गाह्रो छ ।
एक विदेशी दम्पत्तिसंगसंगै उनीहरुका ३ वर्षिय छोरी र ५ वर्षिय छोरासंग एकहप्ता संगै बस्ने मौका पाईएको थियो । एक हप्तासम्म उनका छोराछारी हाम्रै घरतिरका केटाकेटिहरु जस्ते चल्थे, दाजु बहिनी जिस्कन्थे, बहिनीले दाजुको बारेमा आमालाई कुरा लगाउथे, भुईमा खेलेर उनीहरुको लुगा फोहर भएको हुन्थ्यो । यति हु“दा हु“दै पनि उनीहरुको आमाले उनीहरुलाई कहिल्यै ठूलो स्वरमा झर्केर बोलेन । कहिल्यै एक झापट पनि पिटेन । सारै गल्ति ग¥र्यो भने उसले विस्तारै नजिक गएर जस्ले गल्ति गरेको हो उसलाई सरी भन्न लगाउथ्यो । उस्ले सरी नभनेसम्म त्यहि कुरा दोह¥याउथ्यो । बच्चाहरु पनि आमाले धेरै टक भने पछि शिर निहु¥याएर बिस्तारै सरी भन्थ्यो । त्यसकोलागि उनलाई कहिल्यै ठूलो स्वरमा बोल्नु परेन र कहिल्यै बच्चाहरुलाई पिटनु परेन ।
हाम्रा बच्चाहरुले आमाको पेटबाट बाहिर निस्केको केहि समय देखिनै ठूलो स्वरमा आमाको आज्ञा सुन्नु परि सकेको हुन्छ । बच्चाहरुलाई गालि गर्नु पर्ने कारण पत्ता लगाउनु भन्दा पहिल्यै बच्चालाई डर देखाएर उनीहरुलाई चुप लगाउनु हाम्रँे नियति नै भईसकेको छ ।
विदेश तिर पढाईको शुरुवात गर्दा पनि उनीहरुको आफ्नो रुची र देखेर चिनेर पढाउने शैलीको विकास विकसित देशहरुमा देखिन्छ । उनीहरुलाई वज्ञानिक ढंगबाट अंक र अक्षरको बारेमा ज्ञान दिएपछि मात्र सैद्धान्तिक हिसावले पढाईन्छ । यसको केहि शुरुवात हामीकहा पनि शुरुवात भईसकेको छ । किनर गार्डेन र इसीडी मार्फत विद्यालयहरुमा यो शैली शुरुवात गरीएको  छ ।
विद्यालयहरुले बाल मनोविज्ञानलाई आधार मानेर शिक्ष्ाँ दिनकोलागि किरन गार्डेन र इसीडीको शुरुवात गरेपनि हाम्रो समाजका बालबालिकाहरुका अंधिकाश घरमा नराम्रो काम गर्नु हुंदैन भन्ने ज्ञान भन्दा पनि नराम्रो काम गरे पिटाई खाईन्छ भन्ने मनमस्तिष्कमा परेको छ । त्यसको शुरुवात बालबालिहरुलाई पढाउने शिक्ष्ँक र विद्यालयमा भय रहित सिकाईको विगुल फुक्नु भन्दा पहिला बालबालिकाको घर परिवारमा नै पुगी भय रहित सिकाईको परामर्श गर्नु पर्ने आवश्यकता देखिएको छ ।

सुधिर भद्र
२०६९ श्रावण ९ गते

Tuesday, June 12, 2012

ल्वाप्पा ख्वाईगो संविधान सभाले !!


तेजबहादुर थिगं, उत्तरी मकवानपुरको विकट आग्रा चौवासका पुराना बासिन्दा हुन । हेटौडा वर्षको ५,६ पटक उनको ओहरदोहर हुन्छ । गाविस नजिकै उनको घर भएकोले उनलाई गाविसको योजना, अनुगमन, मुल्याड्डकन, दलिय संयन्त्र, परीषद आदि धेरै कुराको ज्ञान पनि छ । उनै तेजबहादुरसंग एक दिन गाविस सचिवको निम्तोमा नाम चलेको होटलमा नास्ता खाने मौका पाईएको थियो । टायल लगाएको होटलको भूईमा उनको डाडा“बासको चिसो माटो टासेको चप्पल चिप्लन खोज्दै थियो । उनी संयमित भएर पाईला चाल्दै थिए ।

टेबलमा बसियो, नास्ताको अर्डर भो, गर्मीलाई तत्काल कम गर्नकोलागि लस्सी खाने सल्लाह भो । केहि समय पछि आएको लस्सी गर्मीले मातेको जिउलाई शान्त गराउन सबैले हतार हतार आफूतिर तानेर खान थाले । तेजबहादुर दाई अल्मलिए, शिशाको गिलामा सेतो झोल देखे पछि गा“उमा सिल्भरको कचौरमा हालेर पिएको छयाड्डको उनलाई याद आयो । कसरी खाने भनेर सोच्दै मात्र थिए उनकै गा“उका एक चल्ता पुर्जा चन्द्रबहादुर दाईले तामाड्ड भाषामा “पाईपसे सोलगो”पाईपले तानेर खानु पर्ने कुरा सम्झाई दिएपछि उनको लस्सीपान शुरुभयो ।

नास्ताले पेट उकासीदै गएपछि राजनैतिक गफ शुरु हुन थाल्यो । संविधान सभाको विषय अहिले हट केक भएकोले तेजबहादुर दाईको यस विषयमा विचार बुझ्न मन लागेर सोधे “दाई तपाईलाई संविधान सभा भनेको के थाहा छ ? उनले टाउको हल्लाए । अनि एक छिन चुप लागेर बसे पछि अलि कड्किएर उत्तर दिए “ल्वाप्पा ख्वाईगो संविधान सभाले के गर्नु संविधान सभाको बारेमा जानेर” यहि संविधान सभाकोलागि भनेर गा“उमा १२÷१२ वर्षसम्म हामीले कति दुःख सहेर बस्यो त्यो कुरा हामीलाई थाहा छ । अव त अलिकति राम्रो होला भन्यो फेरी उही चाल छ नेताहरुको खै के गर्ने उनको निराशापन संगै निधारबाट पसिना पनि छुट्दै थियो ।

संविधान सभाले तेजबाहादुर दाईलाई मात्र ल्वाप्पा ख्वाको होईन समस्त नेपालको हित चहाने नेपालीहरुलाई ल्वाप्पा ख्वाएको छ । सर्वसाधरण नेपालीले जेठ १४ पछि को नेपालको कल्पना अर्कै गरेका थिए । उद्यँेगी व्यवसायीहरु लगानीका नया“ योजनाहरु कार्यान्वयन गर्न आतुर थिए । विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न पाईला उठाउ“दै थिए । बन्द र हडताल सदाकोलागि बन्द हुने आशहरु त्यसै त्यसै गर्भमा नै तुहिएर गए ।

धरै नेपालीहरुका धेरै आशाहरु ६०१ जना सभासदहरुको जिम्मामा पठाएका थिए । उनीहरुले केहि न केहि ल्याउने आशमा थिए । तर विचरा सभासदहरु उनीहरु आफै आफ्नै दलका ठूला नेताहरुको बन्धनमा परे । उनीहरुले चाहेर नचाहेर केहि गर्न सकेनन । खाली माथिल्लो निकाएले गरेको निर्णयको साक्षी बस्नु बाहेक उनीहरुको केहि काम भएन् । दुईचार वर्ष स्थानीय स्तरको प्रमुख अतिथि र अतिथि भएर भाषण ठोक्ने काम मात्र भयो । कोहि कोहि गलत धन्धामा लागेर आर्थिक लाभ गर्न तर्फ व्यस्त भए । कोहि महिनाको ४० हजार पारीश्रमिकमा रमाउनमा नै व्यस्त हुन थाले । कोहि समिति र उपसमितिमा झगडा गर्नमा नै व्यस्त हुन थाले । कोही आफ्नो आसेपासेलाई राम्रो ठा“उमा जागिर खुवाउन र आर्थिक लाभ वाडनमा नै व्यस्त हुन थाले ।

दुईचार वर्षको शहर वसाईपछि अव उनीहरुलाई गा“उ फर्कनु परेको छ । फेरी नया“ आशाहरु बाड्नु परेको छ । फेरी आसेपासेहरुको झुण्ड जम्मा गरेर देश दर्शनको चर्चा गर्नु परेको छ । के गर्नु अव फेरी चुनाव आउदैछ नि, चुनाव नै राजनीतिज्ञहरुको ठूलो परीक्षा हो । देश दर्शन, साम, दाम, दण्ड जे प्रयोग गरेर भए पनि चुनाव त जित्नै पर्छ । फेरी धेरै आशा बोकेका जमातहरु फेला पार्नु छ ।उनीहरुको आशालाई प्रतिवद्धता व्यक्त गर्दै सदासयता प्राप्त गर्नुछ । जेगरी जसरी भएपनि आम नेपाली जनताको चाहना संविधान सभाबाट बन्ने संविधान चाडो भन्दा चाडो नेपाली जनताको हातमा आओस, फेरी फेरी पनि संविधान सभाले ल्वाप्पा नखुवाओस ।

सुधिर भद्र
२०६९ जेठ २९ गते

Thursday, May 24, 2012

म पनि नेपाली


गत साता एक नेपाली कपडा व्यवसायी र अर्का मारवाडी कपडा व्यवसायीसंग सानो कुरामा असमझदारी भयो । असमझदारीलाई दुवै पक्ष्ँका व्यवसायीहरुको सामुहिक प्रयासमा सामान्य बनाउने प्रयास गरीयो । दुवै पक्ष्ँ वाहीरी रुपमा समझादरी भएपनि भित्री रुपमा उनीहरुको दुवैको मनमा परेको चिसो सामान्य हुन सकेको थिएन । एकजना मारवाडी व्यवसायीले आफ्नो दुखासो पोख्दै भने हाम्रा बाउ बाजे भारतीय मुलका होलान तर हामी यही जन्मेका, यही हुर्केर यत्रो भईसक्यौ तर पनि हामीलाई समाजले पूर्णरुपमा नेपाली भनेर पत्याउन सकेको छैन । सधै हामीलाई भेदभाव हुन्छ सधै हामी हेपिन्छौ ।

एक किसिमको जातीय विभेद हामीले अनुभव गर्नु परीरहेको छ । हामी स्कुल यही पढ्यौ, कलेज यही पढ्यौ, हाम्रो सम्पूर्ण जीवन यहि बित्दै गईरहेको छ तर पनी कहिले कहिले यस्तो विभेद देख्दा हाम्रो मन रुन्छ । हामी व्यवसायीक कारोवारको सिलसीलामा भारत तथा अन्य मुलुकमा जान्छौ हामी गर्वसाथ हामी नेपाली भनेर हाम्रो परीचय दिन्छौ, देश विदेशमा कार्य गरी रहेका नेपालीहरु देख्दा हामीलाई निकै खुशी लाग्छ । तर हाम्रै मुलुकमा त्यसमाथी पनि आफ्नै शहरमा दोश्रो दर्जाको व्यवहार सहनु पर्दा धेरै दुःख लाग्छ । ब्राम्हण तथा दशनामी सामाजको नेपाल वन्दको दोश्रो दिनमा ती मारवाडी व्यवसायीले सुनाएको दुखेसो सुनेर अलि कति सोच्न वाध्य तुल्यायो ।

हामीकहा वास्तवमा नै जातीय विभेदका कारण कुनै पक्ष्ँ पिडित भएर बसीरहनु परेको छ त ? साच्च नै उनीहरुको आत्मसम्मानमा चोट परेको छ त? यदि यस्ले जरा गाड्दै जाने हो भने भविष्यमा अर्को नकारात्मक घटना घटाउन सक्ने सम्भवना पनि बढि हुन्छ होला । पृथ्वीनरायण शाहले २२ से र २४ से राज्यलाई एकिकरण गरेको नेपाल  अहिले फेरी त्यहि ढंगमा चिरा चिरा पर्न थालेको घटनाक्रमहरु देखिरहेका बेला यस्ता कुराले थप नया संकट ल्याउने सम्भावना देखिएको  छ ।

सवैभन्दा पहिला नेपाली अनिमात्र नेवार, तामाड्ड, वाहुन, क्षेत्री, मारवाडी, मधिशे, दशनामी आदि ईत्यादी हुन भन्नेकुरा सबैले बुझेको भएतापनि कसै कसैको निहीत स्वार्थमा यहा जातिय विभेद ल्याउने संस्कृतिको विकास भईरहेको छ । अन्य जात जातीको उदगम् जहा भए पनि उनीहरु नेपाली नै हुन भन्नेमा छ । तर मारवाडी र मधिसे समुदायहरुका धेरै धर्मसंस्कार र पारीवारीक नाता कुटुम्ब पनि छिमेकी राष्ट्रमा बढि हुने गरेको कारण उनीहरुको नाम दक्षिणी छिमेकी राष्ट्रसंग वढी जोडिएर आएको पाईन्छ । यो भन्दैमा उनीहरुलाई नेपाल प्रति माया छैन, उनीहरु नेपालका पहिलो दर्जाका नागरीक होईनन् भन्ने भावना विकास हुनु राम्रो हाईन होला ।

जुन पनि सम्प्रदाय जात जातीमा राम्रो नियत र नराम्रो नियत विचार भएका मानिस वा मानिसहरुको झुण्डहरु हुन्छन । यसले गर्दा समग्र समूहलाई नै लक्षित गरी उनीहरुलाई पक्ष्ँपात गर्नु सान्दर्भिक हुदैन होला । यसो भन्दैमा सानो भन्दा सानो कुरामा केन्द्रित भएर हामी मारवाडी वा मधेशी भएर नै हामी पक्ष्ँपातमा परेका हौ, हामीलाई दोश्रो दर्जाको रुपमा लिईएको छ भन्ने मान्यता त्यस समुदायले लिनु पनि उपयुक्त हुदैन । एउटा तामाड्डले तामाड्डलाई वा एउटा वाहुनले अर्को वाहुनलाई पिटदा वा गाली गर्दा त्यहा कुनै जातीय सम्प्रदायीकता वा जातीय भेदभावको कुरा आउदैन तर एउटा बाहुनले मारवाडीलाई वा एउटा नेवारले अर्को क्षेत्रीलाई गाली गलैचा गर्दैमा वा हातपात गर्दैमा त्यहा जातीय वा सम्प्रदायीक कुरा ल्याउनु ठूलो मुर्खता हो । जसको शुरुवात छटपुटका केहि घटनाहरुबाट देखिन थालेको छ ।

बन्दकै सन्दर्भमा यस भन्दा अगाडीको बन्दमा ब्राम्हन, क्ष्ँेत्री, खस, दशनामीहरुले शंक फुक्दै ठूलो बन्दको प्रचार प्रसारकोलागि मसाल जुलुश निकालेका थिए ठिक त्यसै गरी तामसालिड्ड र अन्य जनजातिहरुले पनि बन्दको पूर्व सन्ध्यामा त्यसैगरी चोक चोकबाट ठूलो समूहमा मशाल जुलुश निकाले । कसै कसैमाथि हातपान भएको पनि सुनिएको छ । मशाल जुलुश बन्द लाई नै प्रतिश्पर्धात्मक रुपमा लिईन थालेको देखिएको छ । यस्ता जात जाती विचको सहिषणुतामा बिस्तारै आ“च आउनु लाग्यो भने भविष्यमा ठूलो दुर्घटना निम्त्याउन सक्छ । यस्तै घटनाक्रमले निरन्तरता पाउंदै गयो भने भारत र पाकिस्तान छुट्टीदा शिख र मुस्लिम सम्प्रदाय बीच भएको साम्प्रदायिक घटना नेपालमा पनि नदोहरियला भन्न सक्निन ।

सवै जात जाती, धर्म वा सांस्कृतीका आ—आफ्नै मुल्य र मान्यताहरु छन् । उनीहरु आ—आफ्नै क्षेत्रमा धेरै महत्वपूर्ण छ । त्यसकारण हामी सबैले म कुन जातीय वा सम्प्रदायको हु भन्दा पनि म पनि नेपाली हु र हामी सबै नेपाली हौ भन्ने सोच्ने बेला आएको छ ।

सुधिर भद्र
२०६९ वैशाख ३० गते
sudhrihtd@yahoo.co.uk

Friday, May 18, 2012

सल्लाहकारको नियती


दैनिक कार्य संचालनमा सहजता प्रदान गर्नकोलागि घोषित तथा अघोषित रुपमा सल्लाहकार राख्ने प्रचलन देखिन्छ । कतिपय अवस्थामा सल्लाहकारका विचार र निर्देशनहरुले प्राथमिकता पाएका हुन्छन भने कतिपय कुराहरुमा त्यसले प्राथमिकता पाउन सकेको हुंदैन । सल्लाहकारको सल्लाहले कुनै काम सफल भएमा सल्लाह लिने व्यक्ति सबैभन्दा बढि प्रफुल्लित हुन्छ भने त्यसले सकारात्मक सन्देश दिन सकेन भने त्यसको दोष सल्लाहाकार प्रति बढी आउ“दछ ।

सल्लाहकारले सल्लाह दिदा जसलाई आफूले सल्लाह दिई रहेको हुन्छ उ प्रति अरुले हेर्ने दृष्टिकोण र  उनको काम कारवाहीबाट पर्न सक्ने असरको बारेमा राम्रोसंग नियालेको हुन्छ । राम्रा राम्रा कुरा गरेर अगाडी खुशी पार्ने र त्यसको पछाडी पर्ने बित्तिकै उनको काम कारवाहीको बारमो नकारात्मक सन्देश दिन सक्ने संस्कार भएको बारेमा सल्लाहकार सतर्क हुनु पर्दछ र सतर्क पनि बनाउन सक्नु पर्दछ । सल्लाहकारले जहिले पनि भविष्यमा पर्न सक्ने नकारात्मक असरको बारेमा सजग गराउनु उनको दायित्व हो । तर भविष्यको सजगतालाई सल्लाह लिने व्यक्तिले नकारात्म्क सोच लियो भन्न थाल्यो भने त्यो भन्दा बढि पिडा सल्लाहकारलाई अरु ठूलो नहोला ।

सल्लाहकारको जिम्मेवारी सम्हाली सकेपछि भविष्यमा आउन सक्ने सकारात्मक नकारात्मक परिणमको बारेमा सोच्नु उसको प्रमुख दायित्व हुन आउछ । सकारात्मक परिणाम आउछ भने त्यसको प्रभाव कस्तो पर्दछ । साथै नकारात्मक परिणाम आएको त्यसको असर कस्तो हुन्छ, सकारात्मक परिणाम आउने कार्य हरुलाई अझ कसरी लोकप्रिय बनाउन सकिन्छ भन्ने बारमो सोच्नु पनि सल्लाहकारको जिम्मेवारी हो । नकारात्मक परिणामको बारमा पनि सल्लाहकारहरु घोत्लिनु पर्दछ । दैनिक क्रियाकलापमा गरीने बिभिन्न आनी बानी व्यवहार र त्यसबाट आफू प्रति आम मानिसले सोच्न सक्ने बिचारको बारेमा पनि सजग रहनु पर्दछ । सामाजिक संस्कार, मुल्य मान्यता एवम् रीति तिथिको पनि कदर गरी आफ्नो व्यवहारमा परीवर्तन ल्याउनु पर्दछ।

हाम्रो सामाजिक संस्कार अहिले पनि वर्तमान विश्वको भन्दा घेरै पछाडी भएकोले त्यसकाबारेमा पनि बुभ््mनु जरुरी छ र सल्लाहकारले पनि बुझाउनु पर्ने आवश्यकता छ । सघै राम्रो नराम्रो कामको सदैव राम्रो गर्नु भयो भन्ने सल्लाह पुग्न थाल्यो भने त्यसको परिणाम नराम्रो हुन्छ ।

हामीका पनि सल्लाहकारहरुको कमि छैन राष्ट्रपति देखि प्रधानमन्त्री र दलका ठूला नेताहरुका आ—आफ्नै सल्लाहकारहरु छन् । उनीहरुले कसरी महामहिमहरुको कामको मुल्यांकन गरेर सल्लाह दिई रहेका हुन । उनीहरुको सल्लाह मानिएको छ कि छैन होला । वा कहिलेकही उनीहरुको सल्लाहलाई पनि नकारात्मक सोच भनेर फ्याकिएिका छन् होला । जे होस सल्लहकारको दायित्व ईमान्दारीपूर्वक वस्तुस्थितिको विश्लेषण गर्नु पर्ने हुन्छ । त्यसको सम्भावित परिणाम र त्यसका समाधानका उपायहरुबा बारेमा पनि सोच्नु पर्ने हुन्छ । र सल्लाह लिने ले नकारात्मक सोच्छ कि सोच्दैन भन्ने पनि सोच्नु पर्ने हुन्छ ।

सुधिर भद्र
२०६९ वैशाख २८

विश्वका मजदुर एक, दुई, तीन .....हौ


विश्वका मजदुर एक हौ, श्रमिकहरुको हक हित जिन्दावाद, सामन्ती र पूजीपति वर्ग मुर्दावाद जस्तै धेरै नाराहरु श्रमिकहरुको महान चाड श्रमिक दिवशमा बजार र चोक चोकमा घन्किएको थियो । अमेरीकामा धेरै वर्ष पहिले मजदुुरहरुको श्रमको उचित मुल्य र मान्यताको माग गर्दै एउटा आन्दोलन चर्किएको थियो । यो आन्दोलनले पूंजीपतिवर्गहरुले श्रमिक वर्गहरुलाई गर्दै आएको शोषण र अत्याचारलाई अन्त गर्दै दैनिक ८ घण्टा कार्य गर्ने नियम प्रतिपादन गरे । आठ घण्टा भन्दा बढी कार्य गर्नु परेमा सोही अनुुुसारको अतिरिक्त समयको ज्याला भुक्तान गर्नु पर्ने नियम बसालियो ।

यसै नियमलाई अन्तराष्ट्रिय मापदण्डको रुपमा लिंदै समय अनुसार र बिभिन्न राष्ट्रको आ—आफ्नो नीति नियम तर्जुमा गरी सोही अनुसार कार्यान्वयन गर्दै आएको छ । नेपालको सन्दर्भमा २०४६ साल भन्दा अगाडीको अवस्थामा मजदूरहरुले खुलेर आफ्नो हक हितकोलागि लडन् सक्ने अवस्था थिएन । लुकिछिपी संगठनिक रुपमा क्रियाकलापहरु संचालन गर्नु पर्ने बाध्यता थियो  । तर २०४६ साल पछि सबैले सबै क्षेत्रबाट आ—आफ्नो हक हितकोलागि आवाज उठाईरहेको अवस्थामा मजदूरहरुको हकहितकोलागि पनि आवाज नउठने कुरा नै भएन ।

मजदुरहरुको आवाजहरुको सम्बोधन गर्दै श्रमिकहरुको हकहितकोलागि तत्कालिन श्री ५ को सरकारले २०४८ सालमा श्रम ऐन लागू गरेपछि केहि हदसम्म् मजदूरहरुको हक हित सुनिश्चित भएको थियो । यसकोलागि बिभिन्न दलसंग आवद्ध भएका श्रमिक संघसंस्थाहरुको सामूहितस जोडलाई सम्मान नै गर्नु पर्ने हुन्छ । २०४६ सालको बहुदलिय व्यवस्था पश्चात केहि वर्षसम्म मे १ का दिन मनाउदै आएको मजदर दिवश विश्वका मजदुर एक हौ भन्ने नाराका साथ सबै दलहरुले सामुहिक रुपमा मनाउदै आएको देखिएको थियो । तर त्यसले लामो समयसम्म निरन्तरता पाउन सकेन । बिभिन्न दलसंग आवद्धित मजदुर संगठनहरु माउ पार्टिको निर्देशन तथा आ—आफ्नो निहित स्वार्थका कारण छुट्टा छुट्टै रुपमा सामुहिक हितकोलागि संघर्ष गर्न थाले जुन त्यति उपलविध्मुलक हुन सकेन । समयकालसंगसंगै मजदुर दिवशले आ—आफ्नै तरिकाले निरन्तरता पाउंदै गयो ।

२०६३ सालको परिवर्तन पछि पुनः एकपट सबै मजदुर संगठनहरुले सामुहिक रुपमा मजदुर दिवश मनाउने जमर्को कसे । एउटै मञ्चबाट बिभिन्न दलका मजदुर नेताहरुले मजदुरहरुको हक हितको आवाज उठाउन थाले । पूजीपतिहरु फेरी एकपटक मजदूरहरु एक जुट हुने भए कि भनेर झस्कन थालेका थिए । अव फेरी मजदुरहरु सामुहिक सौदावाजी ९अयििभअतष्खभ द्यबचनबलष्लन० मा प्रखर भएर आउने हुन कि भन्ने लागेको थियो । तर पांच वर्ष पुग्दा नपुग्दै यसको निरन्तरतामा फेरी पूर्णविराम लाग्यो ।

फरक धारको राजनैतिक दलको मात्र नभएर एउटै दलका मजदुर संगठनहरु पनि छुट्टा छुट्टै किसिमले मजदुरको हक हित भनेर केहि मानिसहरुको झुण्ड जम्मा गरेर विश्वका मजदुर एक हौ भन्ने नाराको सार्थकताको बारेमा बोलिरहदा साचो मजदुर नेताको मन कति खुशी होला । मजदुर क्रान्तिकालागि उठेका हातहरुको योगदान र त्यसैको भरमा राजनीतिमा आफ्नो छवि बनाई टिकेकाहरुले अव सोच्ने बेला आएको छ । यस्तो संस्कार अनि एउटै वर्गको हितकोलागि फरक फरक संघर्षले के उपलव्धि देला । अब मजदुरहरुले विश्वका मजदुर एक हौ भन्ने नारा भन्न अलि नसुहाएको जस्तो भएको छ । क्रान्तिकारीहरु अति क्रान्तिकारी देखाउन जायज नजायज माग सम्पूर्ण पुरा हुनु पर्छ भन्ने अनि अन्य मुलधारका मजदुर संगठनहरु पनि राम्रो नराम्रो छुट्टयाउन नसके पछि कसरी सम्पूर्ण मजदुरको हित हुन्छ होला । अवका मे दिवशमा विश्वका मजदुर एक हो होईन दुई हौ, तिन चार..... हौ भन्ने नारा राख्दा उपयुक्त होला कि ।

सुधिर भद्र
२०६९ वैशाख २८