प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताड्ड गाडी चढेर शुरुका दिनमा जति लोकप्रियता कमाउन थालेको थिए त्यसले लामो समय सम्म निरन्तरता पाउन सकेन । उनका मन्त्रिपरिषदका सदस्यहरुले बेला बेलामा गर्ने क्रियाकलाप उनको लोकप्रियतामा कमि ल्याउने प्रमुख तत्वका रुपमा रहे । त्यसका साथ साथै उनी आफै पनि बिभिन्न कारणले गर्दा बिवादित बन्दै गए । सायद उनी आफैमा नराम्रो व्यक्ति होईन होला तर समयकालले उनलाई त्यस्ता कमद उठाउन बाध्य पारीए होला । जे भए पनि एक जुगका राम्रा ईन्जिनियर त्यसमाथि पनि विद्यावारीधि गरी सकेका व्यक्तिले नेतृत्व लिदा अवश्य पनि देश र जनताको हितकोलागि नै कार्य गर्छन होला भन्ने आश सबैको थियो । उनले आफैले अर्थ मन्त्रीको जिम्मेवारी सम्हाल्दा गरेका आर्थिक सुधारले पनि सर्वसाधारण धेरै आशावादी थिए । तर विविध कारणले गर्दा उनले गर्न सक्ने र गर्न खोजेका काम गर्न सकेनन होला । उनी द्वारा नरुचाईएका कार्यहरु गर्न वाध्य भए होलान । त्यत्तिका बिचमा पनि उनले एउटा नौलो कामको फेरी शुरुवात गरेका छन । प्रत्येक महिना बिभिन्न गाविसमा पुगेर स्थनीयवासीहरुसंग एक दिन विताउने ।
उनको यो कार्यक्रम स्थानीय स्तरमा पुगेर स्थनीयवासीहरुले स्थानीय स्तरमा भोग्नु परेका समस्याहरु पत्ता लगाउनु होला । उनले त्यहा देखेका समस्याहरुको समाधानकोलागि सरकाले गर्न सक्ने कार्यहरु प्राथमिकतामा पारेर गर्नु होला । यो कार्य अवश्य पनि राम्रो शुरुवात हो तर यो भट्टराईको हेलो सरकार जस्तो सुपर फल्प प्रोजेक्ट नहोस भन्नेमा आशावादी होऔ ।
काठमाण्डौबाट उडेर भरतपुरमा कालो झण्डाको सामना गर्दै लावा लस्कर सहित चितवनको सिद्धि गाविसमा पुग्ने उनको कार्यक्रमको शुरुवात निकै ताम झामका साथ गरिएको थियो । एउटा दैनिक पत्रिकामा ८९ वर्षिय बन्दिपुरे चेपाड्डको बारेमा समाचार प्रकाशन भएपछि उनी सिद्धि पुग्न हौसिएका थिए । सवारी साधन पुग्ने ठा“उसम्म उनी सहित सरकारी कार्यालका उच्च पदस्थ अधिकारीहरु वातानुकुलित गाडीमा पुगे । वर्षायाममा उर्लेर आएको खहरे तर्न नसकेपछि उनीलगायत उनको टोलीको साधन खोला वारी नै छोडेर स्थानीवासीहरुको सदावहार साधन ट्रयाक्टरमा सिद्धि पुग्ने योजना बन्यो । जनयुद्धकाला हिडेका धेरै अनुभवहरुलाई सिद्धि यात्राले रिफ्रेश्मेन्ट गरिदिए जस्तो थियो ।
उनी ट्रयाक्टरमा जानु ठूलो कुरा थिएन तर ती भेगका जनताको यातायातको मुख्य साधन नै त्यही हो भन्ने मुलकका कार्यकारी निकायका म्रमुख व्यक्तिले बुझनु ठूलो कुरा थियो । आकासबाट कहिले कहिले विश्राम लिदै परिरहेको एकनासे झरीमा ट्रयाक्टरको पछाडी भागको ढाला समातेर बसेका भट्टराईलाई ज्ञान छ कि छैन होला त्यहा“का स्थानीवासीहरुकोलागि त्यो साधन नै मर्सिडिज वेन्च भन्दा पनि बढि महत्वपूर्ण छ । त्यसमा समातेर हिड्दा हिड्दा हातका छालाहरु खुईलिएर ठेला परिसकेका छन् । त्यो पनि छुट्यो भने घण्टौ पैदल हिडनु पर्ने बाध्यता उनीहरु माथि छ । एम्बुलेन्स भने पनि, बस भने पनि, ट्याक्सी भने पनि उनीहरुको एउटै रोजाई त्यहि साधन हो ।
गाविस सचिव र हेल्थपोष्टका डाक्टरसावको अनुहार कहिले कहि मात्र देख्न पाउने स्थानीयवासीहरुले यतिका धेरै उच्च पदस्थ सरकारी कर्मचारीहरु देख्न पाउनु धेरै ठुलो कुरा थियो । भट्टराईज्यू तपाई सरकारी मेजमानीमा स्वास्थ्य चौकीको पक्की घरको कोठामा रात बिताउनु भयो होला । चिसो भुईमा भए एकसरो कपडा त्यो पनि नभए पोलिथिन बोरा ओछ्याएर बस्नेहरुलाई के थाहा सुत्केरीको बेलामा त्यहि हेल्थपोष्टमा कति पटक चिकित्सकको नियमित परिक्षण गराउनु पर्दछ भनेर । गांउका केहि सिमित टाठाबाठाहरुलेमात्र कखरा सिक्ने मौका पाएका र अरु अहिले पनि तीन बिसको हिसाव गर्नु पर्नेहरुलाई शिक्षाको महत्व र यसले पार्ने दुरगामी असरको बारेमा के थाहा ।
तपाई एक दिनको लागि जा“दा आपतकालिन औषधि र अन्य प्राथमिक उपचारको साधनसंगै लिएर जानु भयो होला । जहा“ झाडापखाला लागेको बेला जीवन जल पाउनु नै ठूलो कुरा छ । जे जस्तो रोग लागे पनि सिटोमोल र ब्रुफिन नै सबै रोगको उपचार गर्ने प्रमुख औषधि भनेर बस्नु परेको छ । स्वास्थ्यकर्मी भन्दा पनि धामी झार्की सर्वशुलभ भएर विरामीहरुको उपचारको पहिलो रोजाई शुक्र लागेको र शनिको दशा शान्ति स्वस्ती गराउनेमा हुन्छ । उपचार दोश्रो स्तरमा मात्र हेल्थपोष्ट र अस्पताल जानु पर्नेलाई लिईनछ ।
भट्टराईज्यू तपाई जानु भएको दिनमा त भान्छामा तपाईसंगै गएका सहयोगीहरुले मिठै कुराहरु पकाएर खुवाए होला । जहा“ चामलको अनुहार हेर्न दशैं तिहार कुर्नु पर्दछ वा कुनै दाताको दिन कुर्नु पर्दछ । गर्न सके दैनिक ज्यालादारी नसके जंगली कन्दमुल र अन्यको भरमा बस्नु परेका छन् । जसको प्रभाव बालवालिकादेखि बृद्ध बृद्धासम्म सबैलाई परेको छ । तपाईले त्यहा आफ्नो तिर्खा मेटाउन मिनरल वाटर खानु भयो होला तर खोलाको तरिमा रहेको कुवा कुलेसोको धमिलो पानी नै त्यहाका स्थानीयवासीहरुको प्यास मेटाउने श्रोत हो । त्यसमा हुन सक्ने किटानु र त्यसले पार्न सक्ने प्रभावको बारेमा न तिनलाई हिजो थाहा थियो न आज थाहा छ ।
भट्टराईज्यूले एक रात बिताउनु भयो, अध्ययनशील र विवेशिल मानिस भएका हुनाले उहा“ले धेरै कुरा बुझनु भयो होला । उहा“संगै जानु भएका भर्खरनै निजामति सेवाका उच्च व्यक्तित्व लिलामणी पौडेलले पनि त्यहा“को यथास्थिति राम्रोसंग बुझ्नु भयो होला । नेपालका ग्रामीण क्षेत्रमा देखिने अंधिकाशंको सामुहिक समस्या र आवश्यकताको प्रतिनिधित्व सिद्धि गाविसले गर्दछ । त्यसैको आधारमा सरकारी सेवा चुस्त दुरुस्त राख्नको लागि व्यवहारीक रणनीति बनाउनु हुन्छ होला ।
बेला बेलामा गरीने भ्रमण दुई चार जना गरीव गुरुवाहरुलाई बांडिने लत्ता कपडाहरुले समस्याको दिर्घकालिन समाधान गर्न सक्दैन । एक हुल मानिस जम्मा गरेर पत्र पत्रिकाको मुख्य समाचार बनाएर मात्र हुंदैन । स्थानीयस्तरमा पुगेर याथास्थिति बुझि सकेपछि त्यहा“ देखिएका समस्याहरुको निराकरणकोलागि आवश्यक कदम चालिनु पर्दछ । भ्रमणमा देखिएका सरकारी कमि कमजोरीमा सुधारको लागि प्रयास गरिनु पर्दछ । यदि त्यसो भएन भने यो भ्रमण ट्रेक्टर एडभेन्चरकोलागि मात्र सिमित हुन सक्दछ ।
सुधिर भद्र
२०६९ भाद्र ३ गते
No comments:
Post a Comment