एउटा वर्दिवाल प्रहरी मोटरसाईकल लिएर भीडमा आईपुग्छ । भीडले उसलाई लडाउँछ, उ माथि मुक्का प्रहार गर्छ । उ ज्यान जोगाउन प्रयास गर्न खोज्छ । भिडले फेरी तान्छ । सयौंको सङ्ख्यामा उपस्थित भीडको लगातार प्रहार छल्न उ मोटरसाईकल छोडेर दौडन्छ । केहि समयपछि थप प्रहरी आई पुग्छ र उसको उपचार गर्न अस्पताल लगिन्छ । यो घटना सुन्दा कुनै चलचित्रका लागि रचिएको काल्पनिक दृश्यको एउटा अंश जस्तो लाग्छ । कसैले कल्पना पनि गर्न नसकेका यस्तो घटना बिहीबार ललितपुरमा देखियो । मच्छिन्द्रनाथको रथ निकाल्ने विषयमा भएको झडपको क्रममा जम्मा भएका भीडले आफ्नो कर्तव्य निर्वाह गरेर फर्केर आएका प्रहरी माथि गरिएको आक्रमण अत्यन्त निन्दनीय छ । यसको जति भत्सर्ना गरे पनि कम हुन्छ ।
रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्पर राजा नरेन्द्रदेवको पालादेखि चलेको मानिन्छ । गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई मानिन्छ । गोरखानाथ नेपालको भ्रमणमा आएका बेला उपत्यकावासीहरुले उनलाई राम्रो व्यवहार नगरेका कारण उनले उपत्यकामा वर्षा नहुने बनाई दिएका थिए । उपत्यकावासीहरुलाई वर्षा नभएर निकै समस्या परेकोले राजालाई गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई बोलाई सम्झाउन अनुरोध गर्न गए । मच्छिन्द्रनाथले गोरखनाथलाई सम्झाएपछि उपत्यकामा फेरी वर्षा भयो । सबै उपत्यकावासीहरुमा हर्ष छायो । त्यहिबेलादेखि यो रथ निकाल्ने परम्परा चल्न थालेको मानिन्छ । अन्तिम दिन भोटो देखाएपछि यो जात्राको समापन हुन्छ ।
नेपाललाई चिनाउने पुरानो संस्कृति मध्येका एक रातो मच्छिन्द्रनाथको जात्रा पनि हो । नेपालको प्राचिन संस्कृतिको संरक्षण र सम्बद्र्धनमा नेवारी समुदायको भूमिका अत्यन्त महत्वपूर्ण छ । वर्तमान समय र अवस्थाको कारण यो रथ तान्ने कार्यक्रम पटक–पटक रोकिएको थिएन । रथ तान्ने परम्पराले अवश्य पनि निरन्तरता पाउनु पर्दछ । यसलाई अहिले नै निरन्तरता दिने हो वा स्थिति सहज भए पश्चात गर्ने भन्ने विषयमा बृहत छलफल आवश्यक छ । यो जात्राले ललितपुरवासीहरु मात्र होईन, नेवार जातिमात्र होईन यो सम्पूर्ण नेपालीहरुको जात्राको रुपमा प्रतिनिधित्व गर्दछ ।
ललितपुर उपमहानगरपालिकाका प्रमुख चिनकाजी महर्जन नेवारी समुदायकै छन् । नेवारी समुदायका धेरै हस्तीहरु ललितपुरमा छन्, संस्कृतिविद् सत्यमोहन जोशीदेखि नेवारी कला र संस्कृतिमा धेरै दख्खल राख्ने व्यक्तिहरु छन् । स्थानीय प्रशासन यदि रथ निकाल्न नमिल्ने भन्ने निर्णयमा प्रतिवद्ध थियो भने एक पटक यस्ता संस्कृतिका व्यक्तित्वहरुसँग छलफल गर्नु पर्दथ्यो । सायद सत्यमोहन जोशीले ललितपुरवासीसँग एकपटक हामी रथ निकाल्ने सवालमा धैर्य गरौं भनिदिनुभएको भए कसैले हतारो गर्दैन थिए होला । जसको कारण आज (बिहीबार) को दुर्घटना हुँदैन थियो होला । प्रमुख जिल्ला अधिकारीले केहि समन्वय त अवश्य पनि गर्नु भएको होला तर उहाँले कहाँ समन्वय गरेर यस्तो निर्णय लिनु भएको हो त्यो स्पष्ट भएन । रथ निकाल्नै नमिल्ने निर्णय भएको हो भने प्रष्टसँग सम्बन्धित गुठियारहरुलाई यसको सन्देश पुर्याउनु पथ्र्यो । यदि स्पष्ट जनकारी सबैलाई अग्रिम रुपमा पुर्याइएको भए राज्यको एक जिम्मेवार निकायको आदेश नमान्नेलाई कानूनी कारवाहीको दायरमा ल्याउन सक्नु पथ्र्यो ।
सम्बन्धित निकायहरुको समन्वय अभावको कारण बिहीबारको घटना भयो भन्नुमा अत्युक्ति नहोला । भीडलाई भड्किन नदिन वा नियन्त्रणमा लिन नसक्नु प्रहरीतर्फको नेतृत्व पनि अलमलमा परेको देखिन्छ । जसको कारण भीड झन अराजक हुँदै गयो । सबैले आ–आफ्नो दायित्व बिर्सिँदै गए । कसैले कसैलाई नियन्त्रणमा राख्न सकेन । जसको कारण कमल घिमिरे जस्तो समान्य प्रहरी जवानले सयौं लात र मुक्का खानु पर्यो । उसको दोष केहि थिएन । कुपण्डोलमा सवारीको जाम व्यवस्थापन गर्दै थिए । आफ्नो जिविकोपार्जन गर्नका लागि सामान्य नेपालीले जस्तै सानोतिनो जागिर खाएका थिए । बाल बच्चाहरुको खुशीका लागि दिनभर रोडमा खटिन्थे, सामाजिक सञ्जालमा आएका भिडियो उनको बालबच्चा र घरका मान्छले हेरेर उनका बाबुलाई किन लखेटेर पिटेको भन्दा के उत्तर दिने ? तिम्रो बाबुले सवारी व्यवस्थापनमा सहयोग गरेका भनेर उपत्यकावासीले सम्मान स्वरुप लेखेटी लखेटी पिटेको भन्नु ? यस्तो रोगको सङ्क्रमण बढिरहेका बेला घर–परिवार नभनी जनताको सेवामा खटिरहेको पुरस्कार स्वरुप बीच सडकमा ईटा प्रहार गरे भीडले भन्नु ।
कर्तव्य पालनको सिलसिलामा नै राजधनी जस्तो शिक्षित, सुरक्षाको दृष्टिले चुस्त दुरुस्त ठाउँमा त प्रहरी पोशाकमा प्रहरीले यसरी कुटाई खानु पर्दछ भने अन्य सामान्य जनताको हालत के होला ? केहि सज्जनहरुले हमला रोक्ने प्रयास नगरेका होईनन् तर अराजक र दायित्व बिर्सिएका भीडले उनीहको कुरा सुनेनन् । यस किसिमको घटना अलि अगाडि पनि सामाजिक सञ्जालमा आएको थियो । त्यसको के कति कारवाही भयो थाहा भएन । प्रहरीहरु पनि सबै सही हुन्छन् भन्ने छैन । सबैको कारवाही गर्ने आफ्नो निकाय छ । भीड र हुल हुज्जतले कारवाही गर्दै जाने हो भने भोलिको अवस्था झन डरलाग्दो हुन्छ । संंस्कृति हामी सबैको हो, हामी सबै मिलेर संरक्ष्ँण गर्नु पर्दछ तर संस्कृतिको संरक्षण गर्ने नाममा यदि कतै कसैले अमानवीय कार्यलाई प्रश्रय दिइरहेको छ भने त्यस्तो कार्यलाई तत्काल रोकिनु पर्दछ ।
Sudhirshrestha.htd@gmail.com
Published in https://samriddhasamaj.com
No comments:
Post a Comment