Monday, October 11, 2021

पोहर सालको दशैं



बाबु भनेर मलाई बोलाउने नाम मैले सम्झना गरेसम्म गह्रुगो स्वरबाट आउने आवाज मेरो बुवाको थियो । उहाँसंगको सामिप्यमा मैले चार दशक विताउने मौका पाए । सामान्य बाबु छोराको सम्वाद बाहेक हाम्रो धेरै अन्य कुरामा बहस हुदैन थियो । मैले बुवाले भनेको सबै मान्ने र बुवाले मेरो आगाडी मैले भनेको सबै मान्ने प्रक्रिया चलिरहेको थियो । उमेर संगसंगै शरिरमा बिभिन्न किसिमको कमजोरीले बुवा गल्दै जानु भएको थियो । आश्विन महिनाको मध्य तिर बुवाको साँझको दैनिक नास्ता समय पश्चात बुवा बाहिर कौसीमा बसिरहनु भएको थियो । एक छिनपछि मलाई बोलाउनु भयो बावु ...................बावु.................म बाहिर गए । मलाई कस्तो झुम्म भई रहेको छ मलाई भित्र लगि देउन भन्नु भयो । मैले हात समातेर बुवा लाई भित्र ल्याए । के भयो भनेर प्रश्न गरे खोई झुम्म भई रहेको छ उठ्न सकिन भन्नु भयो । खाटमा राखेर म यता गाएको थिए बुवा भुक्लुक्क लड्नु भयो । आमालाई बोलाएर हामी दुवै भएर बुवालाई हल्लाएर बोलायौ ।  दात किर्नु भएको थियो दातमा हात राखेर फ्ट्यायौ । एक छिन पछि आँखा खोल्नु भयो । 


परिवारका अन्य सदस्यहरु पनि जम्मा भई सकेका थिए । हामीले अस्पताल लग्ने तयारी गर्न थाल्यो तर बुवा अस्पताल जान मान्नु भएन, भोली विहान जाने कुरामा अडिग हुनु भयो । हामीले धेरै कर ग¥यौ तर मान्नु भएन । राती उहाँलाई अलि स्वास प्रस्वासमा समस्या भएछ विहानै अस्पताल जान तयार हुनु भयो । हामी सबै हेटौडा अस्पताल गयौ । अस्पतालले निमोनिया भएकोले भरतपुर वा काठमाण्डौ लान सल्लाह दियो हामी भरतपुर जान तयार भयौ । बुवा भरतपुर जान तयार हुनु हुन्थेन । मलाई केहि भएको छैन औषधि मात्र लेख्न भन डाक्टरलाई भनेर हामी सबैलाई भनि रहनु भएको थियो । डाक्टर देखाएर फर्कि हाल्ने भनेर हामीले फकाएर लग्यौ । भरतपुर अस्पतालले भर्ना गर्न भन्यो बुबा फर्किन जोड गरिरहनु भएको थियो । हामी निको भएर पछि जाने भनेर फेरी फकायौ । एक छिन पछि अलि धेरै गाह्रो भयो । बुवालाई बोल्न धेरै गाह्रो हुन थाल्यो ।


भरतपुरमा शुरुका दूई दिन बुवालाई धेरै गाहै्रो भएको थियो । आईसीयूमा राखिएको थियो । पछि बिस्तारै सामान्य हुँदै गयो । अलि कति सामान्य हुने बित्तिकै घर जान निकै हतारनिु हुन्थ्यो । एकसाताको बसाई पछि हामी घर फर्कियौ, घरमा दशैको माहौल शुरु हुंदै थियो । बुवालाई सकुशल घर फर्काउन सकेकोमा हामी धेरै खुशी थियौ । बुवाले नियमति औषधि सेवन गरी रहनु भएका थियो । बिस्तारै शरिरमा फूर्ति पनि आउन थालको थियो । विहान सधै ईष्टमित्रलाई फोन गर्दे समय कटि रहनु भएको थियो । दिउँसो पत्रिका र केहि थान किताव पढेर बस्ने उहाँको दिनचार्य बनिरहेको थियो । अष्टमीको दिन हामीले सबै नेवारी परम्परको भोज कुछी भ्वए संगै खायौ । बुवालाई सधै राती राती अलिकति खाने बानी परेको थियो । बिरामी परेदेखि उहाँको नियमित सेवन रोकिएको थियो । उहाँलाई त्यसको निकै तल तल लागिरहेको हामीले बुझि रहेका थियौ । राती केहि समय निदाउनु भए पश्चात बिउझिनु भयो । उठेर बसि रहुन भएको थियो, मैले गाह्रो भयो भनेर सोधै अलि अलि भनेर टाउको हल्लाउनु भयो । हामीले भरतपुरमा जस्तो गाह्रो होलाकि भनेर अक्सिजन घरमै राखेका थियौ । मलाई आमालाई उठाउ भन्नु भयो, मैले आमालाई उठाए अनि अक्सिजन लगाई दिए । 


उहाँको गाह्रो पन बढ्दै गयो । घडीमा रातको १ बज्दै थियो, पटक पटक घडि हेर्दै हुनु हुन्थ्यो । सायद चाँडै विहान कहिले हुन्छ भनेर होला, पल पल हिसाब गरी रहनु भएको थियो । सिलिण्डरमा अक्सिजन सकिन थालेछ, बुवालाई झन धेरै गाह्रो  हुन थाल्यो । अक्सिजन छैन भनेर सौध्नु भएको थियो, मैले उहाँको मनोबल बढाउनकोलागि छैन भन्न सकिन बिस्तारै आउँदैछ भने । तर बुवाको गाह्रौ मैले हेर्न सकिन, धेरै नै गाह्रो भए पछि कहिल्यै अस्पताल जान नमान्ने बुवाले आफैले मलाई चुरे हिल जाउँ बाबु भन्नु भयो । मैले त्यत्तिखेरसम्म चुरेहिल हस्पिटलको बिवेक भाई र सञ्चो हस्पिटलको मित्रता बहिनिलाई अस्पतालको बारेमा बुभ्mदा विशेषज्ञ डाक्टरसाबहरु दशैंमा घर जानु भएको र आकस्मिक सेवा मात्र संचालनमा रहेको जानकारी पाएको थिए । जे भए पनि अस्पताल नै जाम भनेर माथिल्लो तल्लाबाट तल्लो तल्ला ओर्लिने क्रममा मैले बुवालाई बोक्न खोजे मान्नु भएन, त्यसरी गलेको अवस्थमा पनि छोरालाई गाह्रो हुन्छ भनेर उहाँ सम्पूर्ण गाह्रो आफै सहेर भ¥यागं ओर्लिन थाल्नु भयो । धेरै गाह्रो भएकोले उहाँ तल ओर्लेपछि थुचुक्क बस्नु भयो । उहाँको स्वास धेरै फुलेको थियो धेरै गाह्रो भई रहेको थियो ।


दशै भएकोले अस्पतालमा कन्सल्टैन्टहरु नहुन ुभएकोले के गर्ने के नगर्ने भन्नेमा हामी दोधारमा थियौ । अक्सिजनको खोजीको लागि केन्द्रगोविन्द जोशीदाईसंग सहयोग माग्यौ उहाँले राती २ बजे अक्सिजन ल्याई दिनु भयो ।  फेरी अक्सिजन जोडियो बिस्तारै बुवा तग्रिन थाल्नु भयो । हामी सबै परिवार तल कोठामा बसकेका थियौ । सबैको अनुहार पालै पालो हेरेर बुवाले मैले गर्दा तिमीहरुलाई धेरै गाह्रो भयो हगी भन्नु भयो । परिवारीक भिड भाड धेरै मन पराउने हुनाले हामी अरु बेलामा पनि प्राय उहाँकै वरिपरी नै हुन्थ्यौ । बिहान हुँदै गएपछि फेरी फ्रेस हुँदै जानु भयो । सबैसंग बोलेर हासी खेली बोलेर बसी रहनु भएको थियो । आमालाई खाना पकाउन र माहिली दिदीलाई खाना खाएर जान भनि रहनु भएको थियो । 


म र कान्छी बहिनी नवमिको विहान मन्दिर गएका थियौ, श्रीमती एलीसा आईशोलेनमा बस्नु पर्ने भएर छुट्टै कोठामा बसीरहेकी थिईन । मन्दिरबाट आए पछि प्रसाद दिएर एक छिन कुरा गर्दै थियो । त्यसको केहि समय पछि फेरी बुवालाई गाह्रो हुन थाल्यो । अक्सिजन दियौ, मुखबाट हाल्ने पम्प ग¥र्यौ तर पनि बुवाको गाह्रो पन कम भएन । हामी तत्काल अस्पतला लाने बिचारमा पुगी मेरा कार्यालका भाईहरु नविन र मोहनलाई एम्बुलेन्स खोज्न सहयोग गर्न अनुरोध गरे । उनीहरुले एम्बुलेन्स पठाई दिए, जानु अधि औषधि खाएर जाँउ भनेर भरतपुरबाट दिएको औषधि खुवायौ । अन्तिममा चुस्ने औषधि एउटा थियो उहाँले चुस्न सक्नु भएन । उहाँको अनुहार सबै छोरा छोरीमा घुमी रहेको थियो । जेठी दिदीले बा गाह्रो भयो भनेर सोध्नु भयो छैन भनेर टाउको मात्र हल्लाउनु भायो ।


एम्बुलेन्स आयो बुबाले उठ्ने कोशिस गर्नु भयो तर सक्नु भएन, ठूलो भिनाजुले बोकेर एम्बुलेन्सनमा राखि हामी सञ्चो हस्पिटमा पुग्यो । घरबाट सञ्चो अस्पताल पुग्न जेलसम्म म आस्थामा को पम्प बुवाको मुखमा बेला बेलामा हालि रहेको थिए भने आमा बुवालाई झक झकाई रहनु भएको थियो । अस्पताल पुग्ने बित्तिकै अक्सिजनको मात्रा निकै कम देखायो । अस्तपलमा अक्सिजनको मात्रा बढाउन निकै कोशिस गरी रहेका थिए । स्क्रिनमा लाईनहरु सिधा आउन थालि सकेका थिए, नम्बरहरु देखाउन छाडेको थियो । म दुई हातको मुठी कसेर ईश्वरीय चमत्कारको प्रतिक्षामा थिए । तर धेरै वेरको प्रयास गर्दा पनि सफल भएन । ड्युटीमा रहेका चिकित्सकले म नजिकै आएर अवस्था जानकारी गरायो । मैले आमालाई संगै लगेर बुवा भएको ठाउँमा लगे के भयो..... के भन्यो.....डाक्टरलाई प्रश्नहरु सोधी रहनु भएका थियो म अवाक थिए उत्तर दिन सकिरहेको थिईन । आट गरेर भने बा जानु भयो...... अनि अस्पतालको माहोल शोकमग्न भयो ।


हरेक सालको विजया दशमीमको नवमीको दिन हाम्रोलागि बुवासंगको अन्तिम दिनको सम्झना मात्र हुने भयो, अष्टमीको भोज अन्तिम भोज भयो । दशैंको माहोलमा सधै रमाईलो गरेर खानु पर्ने बुबालाई त्यस बर्षको दशैंमा अरु कुरा केहि पनि नखाई शुद्ध कोकाकोला मात्र हातमा समाएर रमाईलो गरी रहनु भएको थियो । औषधी उपचारको क्रममा पनि आफूले गरेका जिद्धिपनको बारेमा हामीसंग माफी माग्दै हुनु हुन्थ्यो । अनि हामीलाई रमाईलोसंग सधै खुशी भएर खान भनि रहनु भएको थियो, हामी त्यहि पोहर सालको दशैंको सम्झनामा अब प्रत्येक सालको दशैंमा सबैजना संगै बसेर रमाउने छौ  बा......। 


सुधिर भद्र

२०७८ आश्विन २१ गते, घटस्थापना 

sudhirshrestha.htd@gmail.com

1 comment:

  1. बुबाको साथ र छाडेर जानुभएको पल जिवनमा अबिस्मरणीय हुन्छ । उहाँले दिनुभएको मार्ग दर्शनमा अब्बल भएर द्रिदताका साथ अगिबड जिबन जिउन सहज हुन्छ ।

    ReplyDelete